सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनायो : पोखरेल

अनलाइनसमय |
९ असोज २०८१
सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनायो : पोखरेल

काठमाडौं, ९ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।

कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘सरकार गठन भएको सय दिन नपुग्दै उहाँले संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो । त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो । माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा संसद रोक्ने काम हुनु गलत हो ।’

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए । तर, माओवादी द्वन्द्वकालमा हिंसा मात्र नभई राष्ट्रमा आतंक सिर्जना गर्ने काम समेत भएको उनले बताए । ‘दिनदहाडै बसमा आगजनी गर्ने, राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने काम भयो’, उनले भने, यो हिंसा मात्र होइन, आतंक पनि हो ।’

यद्यपि माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उनले बताए । सत्य निरुपण आयोग गठन गर्ने क्रममा माओवादी स्वयंले यसलाई स्वीकार गरिसकेको उनको भनाइ छ । यद्यपि माओवादीले तत्कालै आफ्नो कमजोरी स्वीकारेर संसद खोलेको भन्दै उनले धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस