काठमाडौं, १० असोज । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।
मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए । सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।
दर्ता भएको उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।
त्यस्तै मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
निर्वाचन कार्यतालिका अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्द ४८ घण्टाअघि अर्थात मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसाद निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।