विपद्मा मृत्यु भएका २३८ परिवारलाई राहत रकम वितरण

अनलाइनसमय |
६ कार्तिक २०८१
विपद्मा मृत्यु भएका २३८ परिवारलाई राहत रकम वितरण

काठमाडौं, ६ कार्तिक । गृह मन्त्रालयले गत असोज दोस्रो साता भएको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई राहत रकम दिएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो । हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएकोे उनले बताए ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी विपद्का मृत्यु भएका काभ्रेपलाञ्चोक जिल्लामा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ । त्यहाँ मृतक १ जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दिइनेछ ।

ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको हकदार यकिन नभएकाले रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौंमा १९ जना मतृकका परिवार, भक्तपुरमा चार, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १–१, सोलुखुम्बुमा ५, इलाममा १, ओखलढुंङ्गामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

साथै सिराहामा १, मकवानपुरमा ७, धादिङमा ३६, सिन्धुपाल्चोक र दोलखामा ७–७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ ।

विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको तिवारीले बताए । अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनको भनाइ छ ।

विपद्मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस