फागुन-१६, काठमाडौं । आज राष्ट्रिय शोक घोषणा भएको दिन काठमाडौंको वातावरण उदास बनेको छ । काठमाडौंवासी मात्र होइन, सिंगै प्रकृति उदास बनेको छ । बिहीबार बिहान उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बनेका थिए । केहीबेर घाम लागे पनि हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं ल्याइपुर्याउँदा यहाँको मौसममा समेत गडबडी देखिएको थियो ।
नेपाली सेनाको एमआई- १७ हेलिकोप्टरमार्फत् ताप्लेजुङको सुकेटारबाट मन्त्री अधिकारीसहित सातै जनाको शव राजधानी ल्याइएको छ । मन्त्रीका साथमा उदीयमान पर्यटन व्यवसायी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, इञ्जिनियर, पाइलट एवं सुरक्षाकर्मी समेत देशले गुमाएको छ । यतिबेला सिंगै देश शोकमग्न छ ।
शिक्षण अस्पतालमा पोष्टमार्टम गरिसकेपछि दिउँसो ३ बजेदेखि टुँडीखेलमा मन्त्री अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने भनियता पनि पोष्टमार्टममा समय लागेका कारणले गर्दा भोलि शुक्रवार बिहान ८ः०० बजे पछि मात्र अन्तिम श्रद्धाञ्जली व्यक्त गरिने कार्यक्रम तय भएको नेकपाको विज्ञप्तिमा जनाइएको छ ।





