• +977 1 4410478

  • info@onlinesamaya.com

  • राजनीति

    स्ववियु निर्वाचन र अनेरास्ववियू

     921 Views
    स्ववियु निर्वाचन र अनेरास्ववियू

    त्रिभुवन विश्वविद्यालयमा लामो समय देखी हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा गरेको छ । मिनि संसदको रुपमा हेरिने स्ववियु निर्वाचनको मिति घोषणासंगै निर्वाचनको सरगर्मी शुरु भएको छ । उमेरको हतबन्दीको कार्यान्वयन संगै स्ववियु निर्वाचनले देशको राष्ट्रिय राजनितीमा पनि नयाँ तरंग ल्याउने साथै विद्यार्थी आन्दोलन र विद्यार्थी राजनितीमा नयाँ अध्यायको थालनी हुने विश्वास गरिएको छ ।

    – स्ववियु निर्वाचन :
    नेपाली राजनितीक इतिहास पल्टाउने हो भने देशमा भएका प्रायः सबै राजनितीक परिवर्तनमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भुमिका रहेको पाईन्छ । राणाशासन विरुद्धको आन्दोलन होस वा २०४७ सालको पहिलो जनआन्दोलन होस या त २०६२/६३ को दोश्रो जनआन्दोलन नै किन नहोस र अन्य विगतमा र भविष्यमा हुने सामाजिक र राष्ट्रियहितका बिषयहरुमा समर्थन र राज्यलाई दुर्गामी असर पार्ने कुराहरु राज्यहितका विपरित कुराहरूको जमकर विरोध गर्ने विद्यार्थी आन्दोलन, स्ववियु निर्वाचन र शैक्षिक गुणस्तरकाबीच आपसमा अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ । तर, जयतु संस्कृतम्को नाराबाट सुरु भएको नेपाली विद्यार्थी आन्दोलनमा यतिबेला ती एजेन्डाहरूले महत्त्व पाएका छैनन् ।

    विद्यार्थी आन्दोलनको सूत्रपात गर्दा त्यसमा शैक्षिक गुणस्तर अझ भनौं शैक्षिक मुद्दाको परिकल्पना पनि गरिएको थियो । जहानियाँ राणाशासनको अन्त्य गर्नु त्यसको मूलध्येय थियो । अर्थात्, विद्यार्थी आन्दोलनको सुरुवात राजनीतिक उद्देश्य प्राप्तिका लागि भएको थियो । जसमा शैक्षिक एजेन्डाले पनि उच्च प्राथमिकता पाएका थिए । त्यसकै बलमा नेपाली जनताले २००७ सालमा प्रजातन्त्र नामको उपलब्धि पाए । २०१७ सालमा महेन्द्रले ‘कु’ गरेर प्रजातन्त्रको चिरहरण गरेपछि पुनः विद्यार्थी आन्दोलन सुरु भयो । त्यसले विश्वविद्यालय र क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिकल्पना गर्‍यो । पञ्चायती शासकहरूको अनिच्छाका बाबजुद विद्यार्थी संगठनहरूले क्याम्पसहरूमा स्ववियु निर्वाचन गरे । विस्तारै त्यसलाई विश्वविद्यालयले मान्यता दियो । स्ववियुमार्फत निरंकुश पञ्चायत शासनका क्रममा पनि स्ववियुको मञ्च प्रयोग गर्दै प्रजातन्त्रको अभ्यास गरियो । विद्यार्थीको हकहित र अधिकारको प्राप्तिको साझा मंच , विश्वविद्यालय र क्याम्पसहरुमा मौलाउदै गएको शैक्षिक माफियागिरि तथा भ्रष्टाचार, बिनासक, शैक्षिक गुणस्तर र समानताको न्यायदाता र शिक्षाको आधुनिक शैली र प्राविधिक शैक्षिक वातावरण सिर्जना गर्ने र अर्को क्षेत्र बोकेको विद्यार्थी संगठनहरु र परिक्षाको घडी स्ववियु निर्वाचन रहेको छ । के साच्चै नै स्ववियु निर्वाचनमा सफल नेतृत्व सहित सारा विद्यार्थीका हकहित पूरा गर्न सकिएला त भन्ने पनि एउटा पङ्ती रहेको छ । जे जस्तो भएपनी देशमा विद्यार्थी संगठनको गिर्दो साख बचाउनपनि स्ववियु निर्वाचन हुन जरुरी छ । मुलुक तमाम कालोबजारी र शैक्षिक दलालहरुको घेरामा रहेको शैक्षिक प्रणाली सरकारी क्याम्पसमा रहेको लूटतन्त्र, नातावाद र कृपावादमा आफ्ना मान्छेहरुलाइ पोस्ने क्रियाकलाप रोक्न पनि स्ववियु निर्वाचन हुन जरुरी देखिन्छ । अर्को पट्टी विद्यार्थी संगठनहरुको आफ्नो आफ्नो स्वार्थ र अडानको कारण लामो समयदेखी विद्यार्थीको हकहित र अधिकार प्राप्ति संबाहक स्ववियु निष्क्रिय जस्तै बन्न पुगेको छ साथै पटक पटक स्ववियु निर्वाचन जितेका संगठनहरुले सामाजिक, राष्ट्रियता र विद्यार्थीका हकहितका मुद्दाहरु सुन्ने मिनि संसद नहुदा विद्यार्थीहरु स्ववियुलाई नै प्रश्न चिह्न खडा भएको छ । नेपाली विद्यार्थीको आन्दोलन, विद्यार्थीको हकहित र विद्यार्थी राजनितीको उपलब्धि बालुवामा पानी हालेजस्तो नहोस र ढिलै भएपनी त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेर विद्यार्थी माझ सकारात्मक सन्देश दिएको छ ।

    – अनेरास्ववियू :
    २००७ सालमा प्राप्त भएको बहुदलीय व्यवस्थालाई २०१७ साल पुस १ को कालो कदम मार्फत राजा महेन्द्रले समाप्त पारेपछि जनताका सम्पुर्ण अधिाकारहरु खोसिए । सबै राजनीतिक पार्टी, संगठनहरुमाथि प्रतिबन्ध लगाइयो । निरंकुश र तानाशाही पञ्चायती व्यवस्था प्रारम्भ भएदेखि बदलिएको परिस्थितिमा भूमिका खेल्न नसकेर अखिल नेपाल विद्यार्थी फेडरेशनको अस्तित्व समाप्त भएकाले पञ्चायती व्यवस्थालाई उखेल्न र जनता एवं विद्यार्थीहरुको हक, अधिकारहरुको स्थापनाका लागि एउटा देशभक्त, प्रगतिशील र जनवादी विद्यार्थी संगठनको स्थापना गर्न आवश्यक ठानी २०१९ सालदेखि अनेक प्रयत्नहरु गर्दागर्दै २०२२ साल जेष्ठ १ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भएको हो । यद्यपी संगठनको यो नाम भने २०२५ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट राखिएको थियो ।

    हाम्रो देशमा रहेका सम्पुर्ण जाति, भाषा, धर्म, लिङ्ग, संस्कृति र विभिन्न भू-भागका जनता बीचको अक्षुण एकता र भौगोलिक अखण्डता नै राष्ट्रियता हो । अनेरास्ववियु नेपालको भिन्न भिन्न विशेषतालाई ध्यानमा राखी विविधताको बीचबाट एकताको खोजी गरेर नै राष्ट्रियताको संरक्षण गर्न सकिन्छ भन्ने दृष्टिकोण राख्दछ । त्यसैगरी अनेरास्ववियू हाम्रो देशको स्वाभिमानमा कसैबाट चोट पुग्न नदिने, हाम्रो एक इन्च भू-भाग पनि अरुबट मिच्न नदिने, प्राकृतिक स्रोत र साधनमाथिको हाम्रो अधिकार कसैलाई हडप्न नदिने कुरामा दृढतापुर्वक उभिदै आएको छ । हाम्रो संगठन देशको रक्षार्थ लड्ने अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापा जस्ता राष्ट्रभक्तहरुको सम्मान गर्दछ । स्मरण रहोस् अनेरास्ववियू सुस्ता, महेशपुर मानेभञ्याङ्ग, मेची, पशुपतिनगर, कालापानी लगायत देशका विभिन्न ठाउँमा भारतबाट गरिएको सिमा अतिक्रमणको विरोधमा लड्दै आएको संगठन पनि हो । अनेरास्ववियू भारतसँग हाम्रा देशका शासकहरुले गरेका असमान र अपमानजनक सन्धि-सम्झौताहरुको खारेज हुनुपर्छ भन्ने मान्यता राख्दछ । तसर्थ अनेरास्ववियू अग्रजहरुले नेपाली राष्ट्रियताका खातिर बगाएको रगत र उनीहरुले गरेको अठोटको सम्मान गर्दै प्रगतिशील राष्ट्रवादको पक्षमा उभिन चाहन्छ । दुइवटा ठुला संगठनको एकतापछि बनेको देशको सबैभन्दा ठूलो भातृ संगठन अनेरास्ववियू विद्यार्थीको हकहित र अधिकार प्राप्तिको लागि मात्र नभई आफ्नो सिद्धान्तको सिमा केन्द्रित आममानिसको जिविकोपार्जनका सवाल र राष्ट्रियताको सवाल लगायत आममानिसको दैनिकीसंग जोडिएका सवालहरुको नेतृत्व गर्दै त्यसको समाधान तर्फ अनेरास्ववियू सदैव अगाडी रहेको छ र अनेरास्ववियूले नेपालमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनको गर्न सधै नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको छ । अब राजनीतिक परिवर्तनपछि अब देश आर्थिकक्रान्ति र विकासको तीब्र गतिमा अगाडि बढीरहेको छ । देशमा करिब दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकार छ र अब फागुन १४ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियूले अत्यधिक बहुमत ल्याउने कुरामा कुनै दुईमत छैन । त्यसैले क्याम्पसमा योग्य, विद्यार्थीको हकहित र लोकप्रिय उम्मेदवार छनोट गरेर मिनि संसद भनेर चिनिने स्ववियु निर्वाचनमा विजय हासिल गरि अनेरास्ववियूले नेपाल सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको अभियानमा निर्णायक भुमिका खेल्ने छ भन्ने विश्वास व्यक्त गरेका छौँ ।

    प्रकाश बहादुर रावल
    नेता (अनेरास्ववियू )
    नेपाल कमर्स क्याम्पस
    मिनभवन बानेश्वर
    (लेखक रावल नेपाल कमर्स क्याम्पसका आगामी स्ववियु सभापतिका उम्मेदवार समेत हुनुहुन्छ ।)

    यसमा तपाइको मत

    Facebook Comment