• घटना तथा अपराध

    नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय नागरिक बब्लु पासवान पक्राउ

     9 Views
    नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय नागरिक बब्लु पासवान पक्राउ

    काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

    गएराति नेपाल–भारतको सीमा रक्सौल नाकाबाट पासवान नेपाल छिरेको गोप्य सूचना पाएपछि वीरगञ्ज प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । पेस्तोलसमेत बोकेका पासवानले प्रहरीमाथि नै गोली प्रहार गर्न थालेपछि जवाफी कारबाही गरी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

    प्रहरीको जवाफी कारबाहीका क्रममा पासवानको देब्रे खुट्टामा गोली लागेको जनाइएको छ । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको जानकारी दिएको छ ।

    काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न रहेका भनिएका पासवान नेपालका विभिन्न आपराधिक घटनामा संलग्न रहेको बताइन्छ । प्रहरीका अनुसार पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment