सिरोहिया पक्राउपछि रास्वपाको विज्ञप्ति: अदालतको अनुमति लिएर आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन

अनलाइनसमय |
९ जेठ २०८१
सिरोहिया पक्राउपछि रास्वपाको विज्ञप्ति: अदालतको अनुमति लिएर आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अदालतको अनुमति लिएर आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जनाएको छ ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरे ।

विज्ञप्तिमा भनिएको छ, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’
सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ ।
‘नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरुप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं’, विज्ञप्तिमा उल्लेख छ ।

पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रहेको उल्लेख गर्दै उनले विज्ञप्तिमा भनेका छन्,जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो । कोही–कोहीलाइ छुनै हुन्न भन्नु सामन्ती कायरता हो ।’

सिरोहियाले किर्ते नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सर्लाहीका इन्द्रजित महतोले उजुरी दिएका थिए । त्यस आधारमा जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा मंगलबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस