कठमाडौं, ९ जेठ । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरे पनि जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।
सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।
सर्लाहीका इन्द्रजित महतोले नागरिकता दुरुपयोग गरेको भन्दै सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा गत वैशाख १६ मा किटानी जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।