काठमाडौं, १० जेठ , कान्तिपुर पब्लिकेसन्सका प्रकाशक कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । बिहिबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्नेजस्ता कार्य गलत रहेको जनाएका हुन् ।
तीनै संघ–संगठनले यसले उद्यमी, व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ,‘विगतदेखि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने भन्दै आइरहेका छौं। उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जोकोहीलाई थुनिहाल्ने नभएर राज्यले तिनका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो।
आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न निजी क्षेत्रले आग्रह गरेको छ ।
मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकूल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्तालाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि व्यवसायीको मानमर्दन गरेर तथा तिनलाई हतोत्साही गरेर लगानी वातावरण बन्न नसक्ने उल्लेख गर्दै देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेको निजी क्षेत्रको भनाई छ ।
उद्योगी, व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व दिनुपर्ने र देशभित्र व्यावसायिक वातावरण खल्बलाउने काम कहीँ–कतैबाट नहोस् भन्नेतर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।