सिरोहिया पक्राउको विरुद्धमा कांग्रेस, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैनः निधि

अनलाइनसमय |
१० जेठ २०८१
सिरोहिया पक्राउको विरुद्धमा कांग्रेस, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैनः निधि

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताएका छन् । बिहीबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रबार काठमाडौंकेन्द्रित विरोध प्रदर्शन गर्ने निधिले बताए ।

यस्तै उनले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए । उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस र सबै नेपालीहरू रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको विरुद्धमा कांग्रेस रहेको बताए ।

सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने उनको भनाई थियो । नेता निधिले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको विरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस