काठमाडौं, ११ जेठ , शुक्रबार (आज) ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु हुन सकेको छैन ।
बानेश्वरमा विपक्षी दलको बैठक र सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक बसिरहेको छ । दुवै बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।
सभामुख देवराज घिमिरे विपक्षी र कार्यदल बैठकको निर्णय पर्खाइमा छन् । सभामुखको कार्यकक्षमा केही मन्त्रीहरू र सत्तापक्षका नेताहरू छन् । कार्यदलमा सहमति जुटे संसद् सहज रूपमा सञ्चालन हुने अपेक्षा छ । तर, सहमति जुट्ने सम्भावना न्युन छ ।
सहकारीको रकम हिनामिना र अपचलनमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रतिपक्ष दलले लगातार संसद् बैठकमा अवरोध गर्दै आएका छन् । प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममा माथि छलफल हुने कार्यसूची छ ।