काठमाडौं, १४ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक (आव) वर्षमा सबै नीतिमा स्वास्थ्य नीति लागु गर्ने भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन र उत्पादकत्व वृद्धि प्राथमिकता रहने उल्लेख गर्दे सबै नीतिमा स्वास्थ्य नीति लागु गरिने बताएका हुन् ।
शर्माका अनुसार प्रदेश गौरवको आयोजना व्यवस्थित गरी कार्यान्वयन गरिने छ । एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई विस्तार गर्दै स्थानीय तहसँगको समन्वयमा समुदायसम्म सञ्चालन गरिने छ । यस्तै उनले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै कार्यान्वयन गरिने बताए । स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रियाशील बनाइने उनको भनाई थियो ।
यस्तै आगामी आर्थिक पर्षमा बागमती विश्वविद्यालयको स्थापना, संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ । साथै प्रदेश परिचय विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गर्ने, व्यवहारिक र प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, स्थानीय तहसँगको समझदारीमा माध्यमिक विद्यालयहरूलाई आवासीय विद्यालयको रूपमा विकास गरिने छ ।