काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षमा सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा गरेको छ ।
मंगलबार आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूमि आयोगमार्फत थप ५ लाख परिवारलाई लालपूर्जा दिने घोषणा गरेका हुन् ।
यस्तै सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । साथै आगामी आवमा मालपोत कार्यालयमा जग्गाको रोक्का र फुकुवाका लागि अनलाईन प्रणाली शुरु गरिने छ । अहिलेसम्म जग्गा रोक्का र फुकुवाका लागि सम्बन्धित जग्गाधनी र रोक्का गर्नेहरु मालपोत कार्यालयमा पुग्नुपर्ने व्यवस्था थियो । अब उक्त घोषणा अनुसर अनलाईनबाटै जग्गा रोक्का र फुकुवा गर्न सकिने छ ।
साथै अर्थमन्त्री पुनले देशभरका जग्गाको नापनक्साको काम थप परिपक्व गर्ने उल्लेख गर्दै नापजाँच बाँकी रहेका जग्गाको आधुनिक प्रविधिबाट नापजाँच गरिने घोषणा गरे ।