काठमाडौं, १६ जेठ । अहिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।
मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम तथा कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्नेछ ।
आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर खण्ड–खण्डमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।