काठमाडौं, २० जेठ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको स्वामित्व प्रधानमन्त्रीले लिनुपर्नै अथवा रेकर्डबाट हटाउन माग गरेका हुन् ।
उनले भने, ‘कि प्रधानमन्त्रीले वन गर्नुस् (स्वामित्व लिनुस्) । होइन भने सदनबाट हटाउन भन्नुस् ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’
यही जेठ ६ गतेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए । संसद बैठक लगत्तै थापाले पत्रकार सम्मेलन गरी त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए । थापाले भनेका थिए, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’
विषयबस्तुलाई बरालेर अर्कोतिर लैजानका लागि विभिन्न अभिव्यक्तिहरू सदनमा दिने प्रवृत्ति बढ्दै गइरहेको र यो डरलाग्दो भएको उनको भनाई छ । उनले प्रश्र गरे, ‘एउटा विषयबस्तु आउँदै गर्दा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले जबाफ दिँदा सबैले यसै गर्न थाले भने सदन कहाँ पुग्छ?’