सडक डिभिजनले गर्‍यो काठमाडौं महानगरले भत्काएको सडक बाटो कालोपत्रे

अनलाइनसमय |
२१ जेठ २०८१
सडक डिभिजनले गर्‍यो काठमाडौं महानगरले भत्काएको सडक बाटो कालोपत्रे

काठमाडौ, २१ जेठ । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक टाल्न महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले सोमबार बिहानबाट कालोपत्रे गर्न थालेको हो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत जफत गरेको थियो ।

१६ जेठमा महानगरलाई पत्र काट्दै सडक डिभिजन कार्यालयले २ दिनभित्र काटेको कालापत्रे फेरि जस्ताको तस्तै गर्न भनेको थियो । ‘उहाँहरुले पत्रको जवाफ दिनुभएन, अर्को ३ दिन कुर्दा पनि काम नभएपछि आज बिहानदेखि पीच गर्न सुरु गरेका हौं,’ डिभिजन सडक काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले भने ।

यसअघि सडक डिभिजन कार्यालयले काटिसकेको सडक २ दिनभित्र नटाले कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरप्रमुख बालेन शाहले उक्त कदमको सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस