काठमाडौं, २१ जेठ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै प्रमुख सचेतक शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन् ।
प्रमुख सचेतक शाहीले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कात्तिकदेखि नै हिउका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताए । चैत मसान्तसम्म हिउका कारण काम गर्न नसक्दा बाँकी रहेको दुई महिनामा मात्रै काम हुने गरेको र सबै पैसा फिर्ता हुने गरेको उनको भनाई थियो ।
यस्तै उनले हिमाली जिल्लाको छुट्टै आर्थिक वर्ष बनाएमा मात्रै काम हुन सक्ने बताए । साथै उनले सार्वजनिक पद धारण गरेकाहरूले अनिवार्य रूपमा नेपालमा उत्पादन गरेको कपडा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
प्रमुख सचेतक शाहीले कर्णाली राजमार्गको बजेट सरकारले अपचलन भएमा आफू संसद बैठकमा उभिने चेतावनीसमेत दिए ।