काठमाडौं, २३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द लेखिएको विषयलाई लिएर कुनै आग्रह–पूर्वाग्रह नराख्न आग्रह गरेका छन् ।
बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले संविधानमा उल्लेख भएको भन्दा अर्को शब्द किन प्रयोग गरिएको भनेर प्रश्न गरेका थिए । बिहीबार कांग्रेसका सांसद रामहरि खतिवडाले पनि यो प्रश्न गरेका थिए ।
सुरुमा जवाफ दिँदा यो विषयमा अर्थमन्त्री पुन मौन रहेका थिए । पुरक प्रश्न सोध्ने क्रममा कांग्रेसका सांसद खतिवडाले जनयुद्ध शब्दको प्रयोगबारे जवाफ नआएको भनी अर्थमन्त्रीलाई स्मरण गराए । जवाफ दिने क्रममा अर्थमन्त्री पुनले बजेट वक्तव्यमा जनयुद्ध शब्द पहिलो पटक नपरेको बताए ।
अर्थमन्त्री पुनले भने, ‘विगतका बजेट वक्तव्यहरुमा पनि छ । चार पाँच वटा वक्तव्यहरु परेको छ । अरु बिभिन्न सरकारी डकुमेन्टमा परेको छ । यसलाइ राख्नै नहुने यो नेपालमा हुँदै नभएको चीज या कुनै सरकारी डकुमेन्टले नचिनेको, चर्चै नगरिएको कुरा जस्तो जसरी प्रस्तुत गर्नुभयो । यो त्यति सान्दर्भिक छ जस्तो लाग्दैन् । उहाँले पनि बुझनु भएक छ ।’
यस्तै नेपालको परिवर्तनमा जनयुद्धसहित बिभिन्न आन्दोलनको योगदान रहेको बुझ्न उनले आग्रह गरे । ‘परिवर्तनमा जनयुद्धको योगदान छ । जनआन्दोलनको पनि योगदान छ’ उनले भने । आफूले विगतमा भएका सबै प्रकारका आन्दोलन र आन्दोलनलाई समेट्ने प्रयास गरेको उनले बताए ।