शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘गाउँ आएको बाटो’ काठमाडौंमा प्रिमियर

अनलाइनसमय |
२४ जेठ २०८१
शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘गाउँ आएको बाटो’ काठमाडौंमा प्रिमियर

काठमाडौं, २४ जेठ । फिल्म ‘गाउँ आएको बाटो’ भोलि शुक्रबारबाट प्रदर्शन हुँदैछ । विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेको ’गाउँ आएको बाटो’ लाई काठमाडौंमा प्रिमियर गरिएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको फिल्मको बुधबार बेलुका काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएकोे हो।

प्रिमियरलाई विशेष बनाउन बिग मुभिजलाई विवाहको मण्डपझैँ सिंगारिएको थियो । हलको एउटा कुनामा किराँत समुदायको साकेला नाच समेत राखिएको थियो ।

नवीन सुब्बाको निर्देशन रहेको यो फिल्म हेर्न थुप्रै फिल्मकर्मीदेखि राजनीतिज्ञ र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू उपस्थिति थिए । फिल्म हेरेपछि अधिकांशले खुलेर प्रशंसा गरे।

’गाउँ आएको बाटो’ ले पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बाँसको चोयाको काम गर्ने माइलाको परिवारमा नव निर्मित बाटोले ल्याएको उतार–चढावको कथा प्रस्तुत गर्छ।

महेश राईको कथा, उनी र निर्देशक सुब्बाको पटकथा लेखन रहेको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो। अमोद राई र निर्देशक सुब्बा फिल्मको निर्माता हुन्।

प्रिमियरमा फिल्मले बुलन्द प्रतिक्रिया प्राप्त गर्दा दयाहाङ खुसी भावमा देखिए । यसमा आफूहरुले दिलोज्यान दिएर काम गरेको उनको भनाई थियो । फिल्ममा उनको श्रीमतीको भूमिकामा पशुपति राईले अभिनय गरेकी छन् भने दयाहाङको छोराको भूमिकामा बाल कलाकार प्रसान राईको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस