काठमाडौं, २४ जेठ । गणेशमान मार्गको थानकोट–चित्लाङ सडक खण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले जारी गरेको विज्ञप्ति अनसुार उक्त सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माण गर्ने कम्पनीले ग्रेड उच्च रहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द हुने भएको हो ।
यस्तै सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएकोले बिहीबारदेखि २० असारसम्म ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने विज्ञप्तिमा भनिएको छ ।
सडक विभागको डिभिजन सडक कार्यालय काठमाडौं मातहतमा रहेको सडक बन्द गर्न नगरपालिकालाई सडक डिभिजनले मंगलबार पत्र काटेको थियो ।
उक्त सडक खण्ड हुँदै बाराको निजगढ, वीरगञ्ज, हेटौंडा र थाहा नगरपालिकाबाट छोटो दुरीमा काठमाडौं उपत्यका छिर्न सकिन्छ ।