काठमाडौं, २५ जेठ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन्। ६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
जनमत, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सिंहले शुक्राबार बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
नवनियुक्त मुख्यमन्त्री सिंहले आजै मध्यान्ह १२ बजे पद तथा गोपनियताको शपथ लिने तयारी छ । मधेश भवनस्थित कभर्ड हलमा नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहण समारोह राखिएको छ।
बिहीबार राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएको थियो ।
साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।
यसैगरी एमालेले पुरानै चारजना मन्त्रीलाई दोहो¥याउने भएको छ । जसअनुसार संसदीय दलका नेता सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन प्रसाद सिंह, प्रमोद जैयसवाल मन्त्री र शारदादेवी थापा राज्यमन्त्री बन्ने छन्।
त्यसैगरी माओवादीले पनि अघिल्लो सरकारबाट राजीनामा दिएका संसदीय दल नेता भरत प्रसाद साह र युवराज भटराइलाई फेरि मन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीबाट अघिल्लो सरकारमा मन्त्री रहेका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने र बेची लुंगेली मन्त्री बन्दै छन् ।
साथै नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह र नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम, जनमत पार्टीबाट तत्काल विना विभागीय राज्मन्त्रीमा रंजु मण्डल खंग मन्त्री बन्दै छन् । ।