काठमाडौं, २५ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं विश्वविद्यालयको केन्द्रिय कार्यालय धुलिखेलमा रिले अनसन गर्दै आएको छ । विश्वविद्यालयमा अनियमितता तथा अमर्यादित कार्य भइरहेको भन्दै नेविसंघले त्यसका विरुद्धमा रिले अनसन थालेको हो।
लामो समयदेखि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै आए तापनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन सुरु गरेको जनाएको छ।
पाँच दिनअघिदेखि रिले अनसन गरिरहेको नेविसंघले परीक्षा संचालन तथा मर्यादा कायम गर्न आवश्यक व्यवस्था मिलाउन, पुर्नयोग र पुनःपरीक्षणपछि प्राप्ताङ्कको प्रकाशन १ हप्ताभित्र हुनुपर्ने माग राखेको छ ।त्यस्तै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने, मौका परीक्षाको हकमा परीक्षाफल प्रकाशन भएको एक महिनाभित्र परीक्षा हुनुपर्ने लगायतका ८ बुँदे मागे छ ।
यस्तै भर्खरै सम्पन्न भएको एमबीबीएस स्नातक तहको परीक्षामा तेस्रो वर्ष पाँचौं वर्षको विद्यार्थीहरुको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयलाई गम्भीरतापूर्वक छानबिन हुनुपर्ने र संलग्नलाई कारबाहीको माग गर्दै रिले अनसन बसेको नेविसंघ काठमाडौं विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङ्का अध्यक्ष नोएल भट्टराईले बताए ।
नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कँडेल, नेविसंघले काभ्रे जिल्ला उपाध्यक्ष सौरभ थापा, नेविसंघ काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरूले अनसन थालेका हुन्। अनसनको नेतृत्व सचिव ढुङ्गेल र स्कुल अफ इन्जिनियरिङका अध्यक्ष भट्टराईले गरिरहेका छन्।
समस्याको समाधान नगरिएसम्म रिले अनसनको अन्त्य नहुने संयोजक नोएल भट्टराईले बताए ।
