काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् । संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई पत्र बुझाएका हुन् ।
माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ ।
माओवादीबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ ।
यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए । यस प्रदेशमा माओवादीका सभामुख सहित ११ सांसद छन् ।