विकासमा नेपाली सेनाको संलग्नतामाथि संसद्मा उठ्यो प्रश्न

अनलाइनसमय |
३० जेठ २०८१
विकासमा नेपाली सेनाको संलग्नतामाथि संसद्मा उठ्यो प्रश्न

काठमाडौं, ३० जेठ । विकासमा नेपाली सेनाको संलग्नतालाई लिएर संसद्मा प्रश्न उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सेनाको विकासका कामबारे प्रश्न गरेका हुन् ।

उनले भने, ‘राजनीतिक पार्टीहरू, हामीहरू यस्तो संवेदनशील जुन संरचना छ, जुन अंग छ नेपाली सेना, यसलाई हामी व्यापार गर्न दिन्छौं, ठेक्कापट्टा गर्न दन्छौं । सुरक्षाको हिसाबले संवेदनशीलताको यो कुरा कति जायज हो ?’ उक्त विषयमा नेताहरूले बोल्नुपर्ने उनको राय छ ।

विकासमा संलग्न हुँदै अगाडि बढेको सेनाको महत्वाकांक्षा बढ्दा विभिन्न देशमा संकट उत्पन्न भएको ख्याल गर्नुपर्ने गुरुङले बताए । उनले भने, ‘धेरै महत्वाकांक्षा बढ्यो भने त्यसले हाम्रो लोकतन्त्रमाथि, गणतन्त्रमाथि के हुन्छ ? विभिन्न देशमा महत्वाकांक्षा बढ्दा संकट पैदा भएको देखेका छैनौं ? हामीले देखेका छौं । अहिले उसको काम राम्रो होला, राम्रो छ । तर यस कुरामा ख्याल गर्नुपर्छ ।’

यस्तै गुरुङले राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्रै हो भन्ने बुझाइमा समेत प्रश्न उठाएका छन् । ‘राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्रै हो भन्ने बुझाइ त्यहाँ (नेपाली सेना)का ठूला हाकिमहरूको पनि छ । हाम्रो नेताहरूको पनि छ ।

पार्टीहरूको पनि छ । तर म भन्न चाहन्छु– राष्ट्रिय सुरक्षा भनेको खाली नेपाली सेना मात्रै होइन । ‘त्यस अतिरिक्त नेपाल प्रहरी छ, एपीएफ छ, एनआईडी छ । यो सबै संस्थाको समुचित रूपमा मात्रै नेसनल सेक्युरिटी हुन्छ ।’

साथै उनले राष्ट्रिय सुरक्षालाई व्यवस्थापन गर्ने, सुदृढ गर्नका लागि काुननमा यथोचित व्यवस्था गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताए । कानुनलाई लोकतान्त्रीकरण गर्नुपर्नेमा पनि यस्तो नदेखिएको गुरुङको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस