काठमाडौं, ३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको को प्रतिनिधि सभाको शून्य समयमा बोल्दै शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
वर्षाको समयमा नेपालमा तीन वटा दृश्य देखिने गरेको उल्लेख गर्दै उनले बाढी पहिरो, आपत्कालीन बैठक र दलहरूको वक्तव्य अनि संसदमा सांसदहरूको ध्यानाकर्षणको दृश्य देखिने गरेको भन्दै ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे ।
यस्तै उनले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध विनाश भइराखेको बताए । उनले भने, ‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं ।’
भूगर्भविदहरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने र विपद व्यवस्थापनमा स्थानीय तहको मूमिकालाई बढोत्तरी दिनुपर्ने उनको सुझाव छ ।