काठमाडौं, ३१ जेठ । सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासठेले पोखरेललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेका हुन् ।
पोखरेल हाल विभागको उपमहानिर्देशकका रुपमा कार्यरत थिए । उनले यसअघि विभागको विकास सहायता माहाशाखा प्रमुखका रुपमा समेत काम गरिसकेका छन् ।
विभागका हालका महानिर्देशक सुशीलबाबु ढकाललाई भने मन्त्रालयमा तानिएको छ । उनलाई योजना महाशाखाको जिम्मेवारी दिइएको छ । नारायणाकजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री भएका बेला उनी महानिर्देशक भएका थिए ।
यसैगरी, मन्त्रालयले रेलवे विभागको महानिर्देशकमा अजय मूललाई नियुक्त गरेको छ। गत जेठ ३ गतेदेखि विभागका महानिर्देशक राहित विसुराल अनिवार्य अवकाश पाएपछि खाली रहेको पदमा मूललाई नियुक्त गरिएको हो।
यस्तै मन्त्रालयका योजना महाशाखा प्रमुख रहेका सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) उमेशविन्दु श्रेष्ठलाई सडक विभागको योजना हेर्ने उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।