काठमाडौं, मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्म अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको बताएको छ ।
महाशाखाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुने जस्ता सम्भावित असरहरू देखिन्छन् ।
हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी भ्हउयकभ नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा मनसुन सक्रिय छ । मधेश र बागमती प्रदेशमा पनि केही शीतल महसुस हुने गरेको छ । तर लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।
ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिएको थियो । बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।
यसैगरी महाशाखाले आज बिहान साढे ३ बजे अलर्ट जारी गर्दै तमोर नदीको सतह ६ मिटर बढेकाले सतर्क रहन भनेको छ । ‘ तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा माथि रहेको र बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनुहुनेहरूले सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।