लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता

अनलाइनसमय |
१ असार २०८१
लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं, ३२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीलगायतका प्रतिनिधि मण्डलले मुख्यमन्त्री महरासँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए । नेपालको शान्ति प्रकृयामा अनमिनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महराले दिगो विकासमा संयुक्त राष्ट्रसंघले गरेका कार्यक्रमहरू सन्तोषजनक रहेको जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र सांस्कृतिक क्षेत्रमा विकास गर्न खोजेको भन्दै मुख्यमन्त्री महराले सहयोगको अपेक्षा गरे ।

यस्तै उनले नेपालका भूमिहीन, सुकुमबासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरे ।

सोही क्रममा आवासीय संयोजक हान्ना सिंगर हेम्डीले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाली सैनिकको मूल्याङ्कन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागिताको पनि प्रशंसा गरिन् । उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुमबासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव दिइन् ।

संविधानको मर्मअनुसार भूमि आयोगले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुम्बासीका पक्षमा काम गरोस् भन्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको हेम्डीले बताइन् ।

अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले प्रशंसायोग्य प्रगति गरेको भन्दै संयोजक हेम्डीले विकासका लागि वित्त परिचालन, जलवायु, सुशासन र सामाजिक सेवामा क्षमता अभिवृद्धि गर्नमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले नेपाललाई सहयोग गर्ने जानकारी दिइन् ।

लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरको रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसंघको प्राथामिकतामा रहेको भन्दै हेम्डीले विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनीको थप विकासमा सबैको सहकार्यको आवश्यकता रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस