काठमाडौं ३२ जेठ । चुरे दोहन रोक्न र मधेस प्रदेशमा पानीको समस्या समाधान गर्न माग गर्दै मधेशवासीहरुले बानेश्वरको बीच सडकमा रित्ता भाँडासहित प्रदर्शन गरेका छन् । चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।
बानेश्वर चोक नजिकै प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् । साथै उनीहरूले दलका नेताहरूलाई पटक–पटक आग्रह गर्दा पानीको समस्या नसुनेको भन्दै विभिन्न दलका शीर्ष नेताहरूको फोटो देखाउँदै ‘लापता, तपाई कहाँ ?, हामी यहाँ !’ प्रदर्शन गरेका छन् ।
चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत शुक्रबार नयाँबानेश्वरको सडकमा प्रदर्शन गरिएको हो । आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाएका थिए ।