काठमाडौं, ३२ जेठ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले २५ हजार, १ लाख, ५ लाखका साना योजना संघीय सरकारले राख्दा संघीयताको उपहास भएको बताएका हुन् ।
शर्माले बजेट विनियोजन गर्दा सरकारका मन्त्रीहरूले प्रदेश र स्थानीय सरकार पनि छ भन्ने कुरा बिर्सन नहुने बताए। केन्द्रीय सरकारको मन्त्री भएपछि केन्द्रीकृत मनोभावनाले ग्रसित नहुन उनको सुझाव छ।
सांसद शर्माले साना योजनाहरू प्रदेश र स्थानीय तहलाई दिएर विकासलाई दिगो र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।
साथै उनलले सरकार निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको सुझाव दिए । उनले भने, ‘कुनै परिणाम नदिने योे छलफलको पनि खासै आवश्यकता देख्दिनँ ।’