काठमाडौं, ३ असार । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेको ४ जनालाई आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ । थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् ।
उक्त सहकारीका साढे ६ सय बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ ।
सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।
थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।