काठमाडौं, २ असार । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएकोले व्यावसायीको आरोप छ । काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्ताथापित गराउन खोजेको उनिहरुको आरोप छ ।
जनप्रतिनिधिहरुले कबाड संकलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो आएका कारण नक्सापास नगरी राखिएका कबाड संकलन केन्द्रमा यसअघि डोजर चलाइएको महानगरको भनाइ छ ।
महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर चलाएको थियो ।
महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नीति लिएको छ ।