काठमाडौं, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रहरी महानिरीक्षक परिवर्तन नहुने प्रष्ट पार्दै ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिए ।
यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो । त्यसबारे आज चितवनमा पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेका थिए । पत्रकारहरूले प्रश्रमा उनले भने, ‘३ वटै आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु । त्यही स्प्रिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’
यसअघि नेपाल प्रहरीका आईजीपी परिवर्तन हुने भन्नेबारे विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिसमेत प्रकाशन गरेको छ ।
सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको प्रधानमन्त्रीको जिकिर छ । प्रचण्डले सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको पनि सुनाए ।