काठमाडौं, ४ असार । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ५२ वटा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रस्ताव स्वीकृत भएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार ५२ वटा उद्योग संचालनका लागि ३ अर्ब १ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । उक्त संख्यामा उद्योग स्थापना भएमा २ हजार ३ सय २३ जनाले रोजगारी पाउने अनुमान छ।
यस्तै चालु आर्थिक वर्ष साउनदेखि जेठ मसान्तसम्ममा ३ सय ५९ वटा वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । उक्त संख्यामा उद्योग संचालनका लागि ४४ अर्ब ४० करोड ८ लाख रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता आएको हो । सो संख्यामा उद्योग स्थापना भएमा २० हजार १ सय ४६ जनाले रोजगारी पाउने आकलन गरिएको छ।
उद्योग विभागका अनुसार हालसम्म ६ हजार २ सय १८ वटा उद्योग संचालनका लागि एफडीआई प्रतिबद्धता आएको छ । उक्त संख्यामा उद्योग संचालनका लागि कुल ४ खर्ब ९४ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ बराबरको रकम लगानी प्रतिबद्धता आएको छ । प्रस्तावित उद्योग स्थापना भएमा ३ लाख २९ हजार ६ सय ५५ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ ।