काठमाडौं, ५ असार । चालू आर्थिक वर्ष २०८०–८१ को चैत महिनासम्म वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३२.६ प्रतिशतले घटेको छ । यससँगै सो अवधिमा वैदेशिक सहायता प्रतिबद्धता रू. १ खर्ब २ अर्ब १४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता प्रतिवद्धता रू. १ खर्ब ५१ अर्ब ५२ करोड रहेको थियो ।
कुल वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान सहायता ४०.४ प्रतिशत र ऋण सहायता ५९.६ प्रतिशत रहेको छ। यस अवधिमा भएको वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी एशियाली विकास बैंकबाट ४७.५ प्रतिशत रहेको छ । साथै, यस अवधिमा प्राप्त भएको वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी सहरी विकास क्षेत्रमा २१.६ प्रतिशत रहेको छ भने सबैभन्दा न्यून वातावरण क्षेत्रमा रहेको छ।