काठमाडौं, ५ असार । चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा बजार अनुगमनमा कैफियत पाइएका ९ सयभन्दा बढी फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको तथ्यांक अनुसार गत जेठसम्ममा ४ हजार १ सय ५० फर्म अनुगमन गर्दा ९ सय ११ फर्म कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका फर्महरुबाट करिब ३ करोड ६० लाख रुपैयाँ जरिवाना असुल गरिएको छ । कारबाहीमा परेका फर्महरुमध्ये १ हजार ६८ फर्मसित आवश्यक कागजात माग गरिएको छ भने ६३ वटा फर्म सामान्य अवस्थामा छन् । यस्तै ८२ फर्मबाट बरामद गरिएका वस्तु नष्ट गरिएको छ । उक्त संख्याका फर्मबाट नष्ट गरिएका वस्तुको मूल्य करिब १ करोड २६ लाख रुपैयाँ बराबरको रहेको छ ।
चालू आर्थिक वर्षको ११ महिनामा गरिएको कारबाही गत आर्थिक वर्षको भन्दा बढी हो । विभागका अनुसार गत आर्थिक वर्षभरिमा कुल ३ हजार ६ सय ९४ वटा अनुगमन गरिएको थियो, जसमध्ये कारबाहीमा पर्ने फर्म ६ सय ९८ वटा थिए । उक्त फर्मबाट करिब २ करोड रुपैयाँ बराबरको जरिवाना गरिएको थियो । अनुगमन गरिएका फर्ममध्ये १ हजार १ सय ५५ वटाको कागजात माग गरिएको थियो भने १ हजार ४ सय ८० फर्म सामान्य अवस्थामा थिए । ९१ फर्मबाट बरामद गरिएको वस्तु नष्ट गरिएको थियो । उक्त वस्तुको मूल्य करिब १ करोड ६४ लाख ३२ हजार रुपैयाँ बराबर थियो ।