काठमाडौं, ७ असार । चालू आर्थिक वर्षको ११ महिनामा रु ४१ अर्ब १९ करोड आन्तरिक राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म रु चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली रु चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म रु ४० अर्बले राजस्व सङ्कलनमा वृद्धि भएको विभागले बताएको छ ।
आयकर (भाडा र ब्याजसमेत) बाट रु दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर ९आन्तरिक०बाट रु एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट रु ९५ अर्ब सङ्कलन भएको छ । विभागका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट रु आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले रु एक खर्ब ७५ अर्ब सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य रु दुई खर्ब ३८ अर्ब थियो । रासस