काठमाडौं, ९ असार । मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । प्याकुरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई पत्र लेखेर राजदूत बन्न अस्वीकार गरेका हुन्। उनले पत्र पनि प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेका छन्।
शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको छ ।
राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत नदिएको उनले बताएका छन् । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुृअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उनको वक्तव्यमा भनिएको छ ।
राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श आवश्यक रहेको उनले बताएका छन् ।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गरेका छन् । ‘दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु,’ उनले भनेका छन्।
मानव अधिकारको क्षेत्रमा क्रियाशील प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि राजीनामा दिएका थिए ।