काठमाडौं, १३ असार । काठमाडौंस्थित पाकिस्तानी दूतावासको आयोजनामा वक्तृत्वकला तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । बुधवार आयोजित उक्त प्रतियोगितामा वक्तृत्वकला र निबन्धलेखनतर्फ १६/१६ जना विद्यार्थी सहभागी थिए ।

‘रोल अफ वुमन इन इकोनोमिक डेभलपमेन्ट अफ साउद एशिया’ शीर्षकको वक्तृत्वकलामा त्रिभुवन विश्वविद्यालयकी वर्षा कुमारी राउत प्रथम भएकी छिन् । उनले प्रथम पुरस्कार बापत रु. ४० हजार, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी दोस्रो भएकी नेपाल ल क्याम्पसकी शोनिका न्यौपानेले रु. ३० हजार, रजत पदक र प्रमाणपत्र प्राप्त गरिन् भने सेन्ट जेभियरका विरेन्द्र श्रेष्ठले तेस्रो भएर रू. २० हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरे । यसैगरी बाँकी १३ जनाले सान्त्वना पुरस्कारस्वपरूप रू. ५ हजार, पदक तथा प्रमाणपत्र पाए ।

यसैगरी ‘रिजनल कनेक्टिभिटी इज एसेन्स अफ इकोनोमिक डेभलपमेन्ट एन्ड सोसल अफलिफ्ट प्रोस्पेक्ट फर साउद एशियन कन्ट्रीज्’ विषयक निबन्ध लेखन प्रतियोगितामा विश्व निकेतन माविकी छात्रा इशा बराल प्रथम भएकी छिन् । उनले रू. ४० हजार, स्वर्ण पदक तथा प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी दोस्रो भएका तिलिङ्गटार माविका छात्र मोहित बादेले रु. ३० हजार, रजत पदक तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा तेस्रो भएका श्रीशांत श्रेष्ठले रु.२० हजार, पदक तथा प्रमाणपत्र पाए । यसैगरी बाँकी १३ जनाले सान्त्वना पुरस्कारस्वरूप रू. ५ हजार नगद तथा प्रमाणपत्र पाए ।

कार्यक्रम काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको प्रमुख आतिथ्यमा भएको थियो । थापाले धेरै पढ्ने, लेख्ने मानिसहरु मोबाइलको दुनियाँमा हराइरहेको बताए । ‘हामीले सिकाएको विद्यार्थीले कति सिक्छन् र कति प्रयोग गर्छन् भन्ने कुरा आजको चुनौती हो,’ थापाले भने ।
पाकिस्तानी राजदूत अब्रार एच हस्मीले आफूहरू भविष्यको तयारी गरिरहेको बताए । युवाले भविष्यको चुनौती र अवसर दुवैलाइ निर्धक्कसाथ निर्वाह गर्न सकुन् भनेर युवालाई सुचना तथा प्रविधिले सुसज्जित गर्ने साथै उनीहरुमा आलोचनात्मक सोचको वीजारोपण गर्ने उनले बताए ।