काठमाडौं, १३ असार । सांसदहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् ।
बैठकमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।
त्यस्तै नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे । उनले असार ११ र १२ गते परेको अविरल बर्षाबाट सोलुखुम्बु जिल्ला प्रभावित भएको भन्दै बाटो, पुल, व्यक्तिका घर पहिरोले क्षति पुर्याएको बताए । उनले प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विराटनगर जलमग्न भएको भन्दै तत्काल उद्धारका लागि सरकारसँग आग्रह गरे । त्यस्तै स्वतन्त्र सांसद अम्रेशकुमार सिंहले सर्लाहीमा विद्युत् प्राधिकरणको लापरबाहीले ३१ वर्षीय अविनाश मिश्रको मृत्यु भएको बताए ।
कांगेस सांसद रामहरि खतिवडाले प्राकृतिक विपद्बाट धेरै जनधनको क्षति भएको बताए । खानेपानी, विद्युत् लगायतमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।