किन असफल हुन्छन् अधिकांश स्टार्टअप ? यी हुन् प्रमुख ७ कारण

अनलाइनसमय |
१५ असार २०८१
किन असफल हुन्छन् अधिकांश स्टार्टअप ? यी हुन् प्रमुख ७ कारण
अस्मिता सापकोटा 

काठमाडौँ, १४ असार ।  पछिल्लो समय आफ्नै उद्यम व्यवसाय सुरु गर्न चाहनेको संख्या बढ्दै गइरहेको छ । बाह्य देशको प्रभाव, वित्तीय चेतनामा भएको वृद्घि, देखासिखी, सरकारले बजेट तथा अन्य कार्यक्रममार्फत गरेका सम्बोधनले पनि नयाँ उद्यम व्यवसाय र विशेषगरी स्टार्टअपमा युवाको आकर्षण बढेको पाइन्छ । नेपालमा स्टार्टअप व्यवसायको चर्चा हुन थालेको करिब डेढ दशक बितिसक्यो । तर यसको अपेक्षित विकास, विस्तार हुन भने सकेको छैन ।

नेपालमा शुरु भएका स्टार्टअप व्यवसायमध्ये पनि कमैले मात्र सफलता पाएका छन् । कतिपय स्टार्टअप शुरुआती अवस्थामै बन्द हुन पुगे भने सीमित संख्याका स्टार्टअप मात्र सञ्चालनमा छन् । व्यावसायिक रूपमा अब्बल स्टार्टअप झनै कम छन् । तीमध्ये फुडमान्डु, खल्ती, उपाय जस्ता केही स्टार्टअपलाई सफल उदाहरण मान्न सकिन्छ ।

त्यसो त सबै उद्यम व्यवसाय सफल हुन्छन् वा हुनैपर्छ भन्ने हुँदैन । विश्वमा असफल स्टार्टअपको सूची धेरै लामो छ । अन्तरराष्ट्रिय जर्नलहरुका अनुसार विश्वमा ९०% स्टार्टअप असफल हुने गरेका छन् । आखिर अधिकांश स्टार्टअप किन सफल हुन सक्दैनन् त । स्टार्टअपको असफलताका अनेकौं कारण छन् । तीमध्ये केही कारणबारे यहाँ चर्चा गरिएको छ ।

१. कम्पनीको व्यवस्थापनमा कमजोरी

धेरैजसो व्यवसायीहरू कम्पनी व्यवस्थापन कमजोर हुँदा असफल हुन्छन् । कम्पनी व्यवस्थापन कसरी गर्ने भन्ने कुरा नयाँ व्यवसायीलाई थाहा हुँदैन । उनीहरू सफल व्यवसायीसँग मद्दत लिन पनि खोज्दैनन् । व्यवसाय सुरु गर्नुअघि स्थापित सफल व्यवसायीहरूको कुरा सुन्नु, उनीहरूको सल्लाह लिनु, उनीहरुको अनुभव वा असफलताबाट सिकेर अगाडि बढ्नुलाई सफल व्यवसायको सुरुआत मानिन्छ ।

२. लागत संरचनाको विश्लेषण नगर्र्नु

व्यवसायीले आफ्नो व्यवसायको प्रत्येक महिना पूर्ण विस्तृत लाभ र नोक्सानको हिसाबकिताब निकाल्न आवश्यक छ । यसले कम्पनीले के गरिरहेको छ र कम्पनी कहाँ गइरहेको छ भन्ने कुरा स्पष्ट पारिदिन्छ । साथै लागत तथा नाफा प्रवृत्ति विश्लेषण गर्ने र लागत उठिरहेको छ कि छैन हेर्ने क्षमता समेत बढाउँछ । जसले लागत संरचना र दक्षताहरू बुझ्दैनन्, ती व्यवसायी असफल हुने सम्भावना बढी हुन्छ ।

३. पर्याप्त नगद प्रवाह नहुनु

धेरै स्टार्टअपहरू नगद सकिएर आवश्यक पूँजी जुटाउन नसक्दा असफल हुन्छन् । पैसाको अभाव स्टार्टअप असफल हुनुको अर्को कारण हो । धेरै स्टार्टअपहरू सञ्चालकको स्वपूँजीबाट चलेका हुन्छन् । यस्तोमा व्यवसायले उचित लाभ उठाउन नसकेमा व्यवसाय नै शंकटमा पर्ने खतरा रहन्छ ।

४. उत्पादन र बजारबीच तालमेल नहुनु

ग्राहकहरूलाई उत्पादनको आवश्यकता नहुनु भनेकै व्यवसायको गति रोकिनु हो । त्यसैले व्यवसायीले उत्पादन सुरु गर्नुअघि योे लक्षित प्रयोगकर्ताले चाहेको कुरा हो होइन निश्चित हुनुपर्छ । यसको लागि व्यवसायीले बजार अध्ययन गर्नु आवश्यक हुन्छ । अन्यथा बजार अध्ययन नै नगरी, उपभोक्ताले के चाहन्छन् थाहा नै नपाई अन्धाधुन्ध थालेको व्यवसायले बजारमा प्रतिस्पर्दा गर्न सक्दैन र व्यवसायले गति लिनै नसक्ने अवस्था सृजना हुन्छ ।

५. प्रतिस्पर्धी क्षमता कमजोर हुनु

बजारमा आफ्नो जस्तै वस्तु तथा सेवा दिने प्रतिस्पर्धी धेरै छन् भने व्यावसायिक उचाइ लिन र ग्राहकलाई टिकाउन गाह्रो हुन्छ । यसले कम्पनीको वृद्धि गर्ने क्षमतालाई सीमित गर्छ । विशेषगरी सीमित स्रोतहरू भएको सानो व्यवसायमा अत्यधिक प्रतिस्पर्धी बजारका कारण ‘प्राइस वार’ हुने सम्भावना हुन्छ । जसकारण व्यवसायले उचित लाभ उठाउन सक्दैन र बन्द हुने सम्भावना रहन्छ ।

६. अनुपयुक्त स्थान

अघिल्लो व्यापार व्यवासय असफल भएकै स्थानमा पुनः सोही किसिमको व्यवसाय गर्दा पनि असफल हुने सम्भावना बढी हुन्छ । यसैगरी ग्राहक तथा उपभोक्ताको पहुँच नभएको ठाउँमा व्यवसाय सुरु गर्नु पनि व्यवसायको प्रगतिमा बाधा हो । लक्षित उपभोक्तालाई पायक पर्ने स्थानमा व्यवसाय शुरू गर्नु बजार सम्भावनाको दृष्टिकोणले लाभदायी हुन सक्छ । सुविधाजनक स्थानले यात्रा समय घटाएर र ग्राहकलाई उत्पादन वा सेवाको खरीद सहज बनाइदिन्छ । र, यसले ग्राहक सन्तुष्टि पनि बढाउन सक्छ ।

७. इन्टरनेट र मार्केटिङ

अहिलेको समयमा कुनै पनि स्टार्टअप व्यवसायले इन्टरनेट वा सोशल मिडियामा आफ्नो उपस्थिति बढाउनु अत्यावश्यक हुन्छ । अनलाइन उपस्थितिले व्यवसायलाई उपभोक्ताहरूसँग जोड्न मद्दत गर्छ । सामाजिक सञ्जालमा व्यवसायको उल्लेख्य उपस्थिति नहुनु र नकारात्मक प्रचार हुनु दुवै नयाँ व्यवसायका लागि दुर्भाग्य हुन् । सामाजिक सञ्जाल मार्केटिङका लागि सजिलो माध्यम हो । तर यसको अधिकतम सदुपयोग गर्न नसक्दा पनि स्टार्टअपले व्यावसायिक विस्तार गर्न सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस