काठमाडौं, १६ असार । सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ ।
‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ को आइतबार बसेको बैठकले समितिको कार्यादेशको अनुसूचि– १ मा समावेश रहेका २० वटा सहकारीको बचत परिचालनको स्थिति, लेखा परिक्षण प्रतिवेदन लगाएतका सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।
समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको संसदीय विशेष समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
थपाका अनुसार तिनैजनाले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेका छन् ।
गत जेठ १५ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
थापाको सभापतित्वमा रहेको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।