सफल उद्यमीमा हुन्छन् यी १० गुण

अनलाइनसमय |
१८ असार २०८१
सफल उद्यमीमा हुन्छन् यी १० गुण

अस्मिता सापकोटा

जीवनमा गरिने कुनै पनि पेशा व्यवसायको सफलता सबैको अभीष्ट हो । सफलताको चाहना गर्नु एउटा पाटो हो, तर यसलाई हासिल गर्नु त्योभन्दा बढी महत्वपूर्ण हुन्छ । सफलता पाउन पक्कै पनि सजिलो छैन । यद्यपि केही यस्ता बानी, गुण तथा विशेषता छन्, जसलाई आत्मसात् गर्न सके सफलता हासिल गर्न सकिने सम्भावना बढी हुन्छ । सामान्यतया काम वा पेशा व्यवसायप्रतिको निष्ठा, लगाव, निरन्तरको मेहनत र आत्मविश्वासलाई सफलताका लागि आवश्यक मानिन्छ । संसारमा सफल भनिएका वा मानिएका प्रतिष्ठित उद्यमी व्यवसायीको जीवनशैली हेर्ने हो भने पनि यी कुरा नै लागू भएको पाइन्छ । यहाँ सफल उद्यमीमा पाइने केही गुण तथा बानीबारे चर्चा गरिएको छ ।

१. लगाव
कुनै पनि उद्यमीलाई सफल हुनको लागि उद्यमप्रति लगाव, आशक्ति वा प्रेम हुनु एकदमै आवश्यक छ । मनैदेखि गरेको काममा मानिसले धेरै समय र मेहनत खर्च गर्न सक्छ । लगाव यस्तो चिज हो, जुन मानिसलाई सफलतासम्म पु¥याउने एउटा प्रमुख माध्यम बन्न सक्छ । मानिसलाई जुन चिजप्रति लगाव हुन्छ, त्यो चिज पाउँदा वा काम पूरा गर्दा उसलाई खुशी मिल्छ । लगावले मानिसलाई कामप्रति अनुशासित पनि बनाउँछ ।

२. सिर्जनात्मकता
कुनै पनि कार्य शुरू गर्न सिर्जनात्मकता पनि आवश्यक हुन्छ । अझ उद्यमीको लागि त यो नभई नहुने कुरा हो । कुनै सामान वा सेवाको उत्पादन गर्दा होस् या ब्रान्डिङ गर्दा सिर्जनात्मकता चाहिन्छ । मानिस कलाप्रेमी प्राणी हो । मानिसले हरेक कुरामा कला खोज्छ । त्यस्तै आफूले उपभोग गर्ने कुरामा पनि कलात्मकता नै रुचाँउछ । त्यसैले उद्यमीले उत्पादन वा सेवा बापत उचित लाभ लिनको लागि पनि सिर्जनात्मकता आवश्यक हुन्छ ।

३. अनुशासन
उद्यमी व्यवसायीका लागि सफल हुन मेहनतको जति भूमिका हुन्छ, त्यति नै भूमिका हुन्छ अनुशासनले । अनुशासन हरेक उद्यमीका लागि वरदान हो । कर्म र आफ्नो व्यवसायप्रतिको अनुशासनले एक कर्मनिष्ठ उद्यमीलाई सफलतातर्फ डोहोर्‍याउँछ ।

४. आत्मविश्वास
आत्मविश्वास डरसँग लड्ने धारिलो हतियार हो । आत्मविश्वासले नै मानिसलाई नयाँ कुरा आविष्कार गर्ने साहस दिन्छ । यसले एउटा उद्यमीलाई आफ्नो उद्यम व्यवसायलाई अगाडि बढाउन र सफलतामा पुर्‍याउन सहयोग गर्छ ।

५. सञ्चार कला
कुनै एक व्यक्ति सफल हुन सञ्चारकला हुन जरुरी हुन्छ । संसारका जति पनि उद्यमी सफल छन्, उनीहरूको सञ्चारशैली प्रभावकारी छ । प्रभावकारी रूपमा आफ्नो कुरा राख्न सक्नु, आफ्नो कुरा अरूलाई सजिलै बुझाउन सक्नु र अरुको कुरा मनन गर्न सक्नु । यी तीनवटै सञ्चारकला उत्कृष्ट भएका मानिसका गुण हुन् । एक उद्यमीको सफलताको पछाडि सञ्चारकलाले धेरै ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

६. जोखिम लिन सक्ने क्षमता
उद्यमी बन्नको लागि जोखिम उठाउने क्षमता पनि अत्यावश्यक मानिन्छ । कुनै पनि उद्यम सुरु गर्दा देखि सफल नहुन्जेल सम्म उद्यमीले जोखिम पार गर्दै अगाडि बढ्ने हो । जोखिमलाई डटेर सामना गर्नको लागि उद्यमीसँग आत्मविश्वास र लगनशीलता हुन आवश्यक हुन्छ ।

७. परिवर्तनशीलता
परिवर्तन आजको आवश्यकता हो । परिवर्तनविना सफलता सम्भव छैन । कुनै एउटा उद्यमीले सफल हुनको लागि समयसँगै आफू र आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी हुन्छ । सधंै एउटै शैली, एउटै सोचले सफलता नमिल्न सक्छ । यस्तोमा उद्यमीले समय अनुसार कार्यशैली, सेवा र उत्पादनमा समेत परिवर्तन ल्याउनुपर्छ । तबमात्र एउटा उद्यमी सफल उद्यमी बन्न सक्छ ।

८. धैर्य
सुख पाउँदैमा मात्तिने र दुख पाउँदैमा आत्तिने स्वभाव उद्यमीमा हुनु हुँदैन । उद्यमीमा धैर्य र निरन्तरता एकदमै आवश्यक हुन्छ । व्यवसायको शिलशिलामा कहिलेकाहीँ उत्पादनले बजार नपाउन सक्छ, कहिले उत्पादनको बारेमा नकारात्मकता फैलिन सक्छ । यस्तो बेलामा उद्यमीले धैर्यका साथ कदम बढाउनु जरुरी हुन्छ । सही समयमा समस्याको समाधान खोज्न सक्नुपर्छ । कहिले पनि हतारमा निर्णय नगरी केही समय पर्खिन पनि सक्नुपर्छ ।

९. दूरदर्शिता
उद्यमी दूरदर्शी हुनुपर्छ । भविष्यमा आउने बाधा र व्यवधानको पहिले नै आकलन गर्न सक्ने हुनुपर्छ । ता कि समय अगावै समाधानको उपाय तयार रहिरहोस् । उद्यमीले भविष्य सोचेर आफ्नो सेवा तथा उत्पादनमा लगानी गर्नुपर्छ । एउटा सफल उद्यमीले आफ्नो उत्पादन र सेवा पछि सम्म चल्छ कि चल्दैन, कतिसम्म लचकता अपनाउँदा ठिक हुन्छ, पहिले नै सोचेर त्यस्को लागि कार्य थालनी गरिसकेको हुन्छ ।

१०. लचकता
एउटा उद्यमी सफल हुनको लागि उसको कार्यशैली लचिलो हुनु जरुरत छ । सफल उद्यमीले समय अनुसार आफूलाई परिवर्तन गर्न सक्छ । साथै आफ्नो व्यवसायलाई पनि लचिलो बनाउन सक्छ । उद्यममा आवश्यकता अनुसार परिवर्तन लेराउन सक्छ । एउटा सफल उद्यमी परिवर्तनशील हुन्छ । समयको माग अनुसार आफू र आफ्नो उत्पादनलाई परिवर्तन गर्दै सफलताको सिँडी चढ्न सफल हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस