महामन्त्री ढकालको प्रस्तावः मैले बिहे गर्ने कि कुमार बस्ने पार्टीले निर्णय गरिदेओस्

अनलाइनसमय |
१९ असार २०८१
महामन्त्री ढकालको प्रस्तावः मैले बिहे गर्ने कि कुमार बस्ने पार्टीले निर्णय गरिदेओस्

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनमाथि पार्टीका नेताहरूले लगाएको आरोपमाथि आपत्ति जनाएका छन् ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए । तर उनले बोल्न पाएका छैनन् ।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका छन् ।

आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग उनको माग छ । उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका छन् ‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्, उनको प्रस्तावमा भनिएको छ ।’

विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’

‘प्रिय सभापति रवि सर’ सम्बोधन गर्दै लिखित धारणामा मुकुलले २०८९ को चुनावभन्दा अगाडि सांसद, मन्त्री वा कुनै सरकारी लाभको पदमा नबस्ने समेत बताएका छन् ।
पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस