काठमाडौं,१९ असार । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलले गठन गरेको संयन्त्रले प्रारम्भिक छलफल सुरू गरेको छ । बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमत्तिका विषयमा प्रारम्भिक छलफल भएको हो ।
असार १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन पार्टीका नेताहरूसँग छलफल गरेका थिए । सोही दिन तीन सदस्यीय संयन्त्र गठन भएको थियो ।
तीन दलीय संयन्त्रमा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र माओवादीका उपमहासचिव जनार्दन शर्मा छन् ।
एमालेका प्रमुख सचेतक बर्तौलाका अनुसार संयन्त्रले थप केही बैठक बसेर संघीय संसदको चालु अधिवेशनमै यो विधेयक पास गर्ने तयारीका साथ काम सुरु गरेको छ ।
उनले भने, ‘सहमति हुन बाँकी चार वटा विषयमा छलफल भएको छ । थप दुई÷तीन वटा बैठक बसेर चालु अधिवेशनमै यो विधेयक पारित गर्ने गरी अगाडि बढाउने तयारी छ । ’
संयन्त्रका सदस्यहरूका अनुसार सहमति हुन बाँकी चार वटा विषयमा विकल्पसहित छलफल भएको छ ।
यसैगरी संयन्त्रका सदस्यहरूका अनुसार विधेयकमा रहेको मानव अधिकारको गम्भीर उल्लंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधीवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटी मागदाबी लिएर जानेलगायत चार विषयमा सहमतिको प्रयास खोजिएको छ ।