काठमाडौं, २० असार । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो ।
ज्येष्ठ सदस्य पशुपति शमशेर राणाका अनुसार संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अहिलेका लागि सिफारिसिबारे विचार विमर्शका लागि थप समय चाहिने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको हो ।
आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । उनले प्रधानले आफूलाई यौन दुव्र्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् । प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरु पनि परेका थिए ।
साथै सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफल बन्द कोठामा गरेको थियो । सुनुवाइ समिति स्रोतका अनुसार उजुरीकर्तासँग समितिले प्रधानसँगको कुराकानीको अडियो फाइल माग गरेको छ ।