काठमाडौं, २० असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको काम राम्रोसँग गर्न नसकेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताएका हुन् ।
उनले भने, ‘राजनीतिक अस्थिरताले होला हामीले पनि राम्रोसँग काम गर्न नसकेको कुरा पनि राख्न चाहन्छु । हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरुस्त ढंगले गरेका छौं भन्ने अवस्था पनि छैन । किनभने यो अस्थिरताले यस्तो समस्या सृजना गर्दोरहेछ ।’
संघीय निजामती सेवा विधेयकलाई चाँडै अगाडि बढाउन आफूले पहल गरे पनि सफल नभएको मन्त्री जोशीले बताए । उनले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए ।
‘यो ऐन नआउँदा अहिले पनि प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा पनि समस्या छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो समाधान गर्नुप¥यो भनेर सबै दलको प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर चाँडो निकास दिनका लागि पहल गरेँ’, उनले भने ।