काठमाडौं, २० असार । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी छानविन गर्न गठित संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको छ।
देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट प्राप्त सूचनाको जानकारी लिन छलफलमा बोलाइएको हो ।
समितिले आज महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग पनि छलफल गरेको संयोजक सूर्य थापाले जानकारी दिए । समितिले माग गरेका कागजात चाँडो उपलब्ध गराउन सहकारी विभागलाई ताकेता गरिएको समेत उनले बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।