काठमाडौं, २१ असार । अर्थमन्त्री वर्षमान पुनले शीर्ष नेता वा मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।
अर्थमन्त्री पुनले सरकारले बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति दिएका, आगामी आर्थिक वर्षमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने हुँदा सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुन सक्ने बताए ।
क्रमागत रूपमा रहेका तथा अनिवार्य दायित्वअन्तर्गत खर्च हुने आयोजना तथा कार्यक्रममा प्राथमिकतापूर्वक बजेट प्रस्ताव गर्नुपर्ने भएको पुनले स्मरण गरे ।
सरकारले आवधिक रूपमा बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं स्वीकृत प्रणाली अनुरूप छलफल तथा स्वीकृति गर्ने प्रक्रियामा सबै जनप्रतिनिधिको अहम् भूमिका र अधिकार समान रहेको बताए ।