सुन मूल्यमा नयाँ रेकर्ड, किन बढिरहेको छ मूल्य ?

अनलाइनसमय |
२४ असार २०८१
सुन मूल्यमा नयाँ रेकर्ड, किन बढिरहेको छ मूल्य ?

काठमाडौं, २३ असार । नेपाली बजारमा आज (आइतवार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्यो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य १ हजारले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो।यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको सुनको मूल्यले आइतवार उक्त रेकर्ड तोडेको हो।

सुनको मूल्य बढ्नुमा मुख्यतः अन्तरराष्ट्रिय कारण नै जिम्मेवार रहेको व्यवसायी बताउँछन् ।बजारमा अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले सेप्टेम्बरभन्दा अगाडि नै ब्याजदर घटाउन सक्छ भन्ने अनुमान धेरै भएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यलेबताए । सुनको मूल्य बढ्नुका अन्य कारणहरूमा बेरोजगारीमा वृद्धि, डलरको अवमूल्यन पनि रहेको उनको बुझाइ छ ।

पछिल्लो २ वर्ष यता सुनको मूल्य बढ्नुमा बाह्य मुलुकबीचको व्यापारिक मतभेद, इजरायल–हमास युद्ध तथा रुस–युक्रेनयुद्धको पनि भूमिका रहेको विज्ञहरु बताउँछन् । नेपालको सन्दर्भमा शेयर बजारको सुस्ती पनि अर्को कारण हुन सक्ने विश्लेषण गरिएको छ । ‘मानिसले लगानी गर्ने अन्यठाउँ नपाउँदा सुनमा लगानी गर्ने सम्भावना बढी हुन्छ, जसको कारण यसको माग बढ्दाभाउ समेत बढ्छ,’ शाक्यले भने, ‘सबै थोकको भाउ बढ्दाको प्रभाव पनि सुनको मूल्यमा परेको छ ।’

विश्व बजारमा डलरभन्दा सुनको सञ्चिति बढ्नु पनि यसको भाउ बढ्नुको अर्को कारण रहेको शाक्य बताउँछन्। ‘विश्वका प्रमुख केन्दीय बैंकहरूले डलरको सट्टा सुनको रिजर्भ बढाउने नीति लिएकाले पनि सुनको भाउ बढेको हो,’ उनले भने ।

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तरराष्ट्रिय बजारमा भने जेठ ७ (मे २०)कै रेकर्ड तोड्न सकेको छैन। सो दिन अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ४२६ डलर पुगेको सुनकोआइतवार २ हजार ३९१ डलर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस